उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु आजै नतिजा आउने

काठमाडौँ । चैत ३, उपराष्ट्रपति चुनावको मतदान सम्पन्न भई भर्खरै मतगणना सुरु भएको जानकारी प्राप्त भएको छ ।
मतदानमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका तीन सय ११ र प्रदेश सभातर्फ पाँच सय १८ जना गरी आठ सय २९ मत खसेको छ ।
सङ्घीय संसद्तर्फका तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० सांसद मतदाता रहेका थिए । राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका एक सांसद मतदानमा सहभागी भएनन् ।
त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहनुभयो । जसपाका सांसद सहनाज रहमानको मृत्यु भएको छ ।
सङ्घीय संसद् भवनको ल्होत्से हलमा शुक्रवार बिहान १० बजेदेखि दिउँसो ३ सम्मका लागि मतदानको समय तोकिएको थियो । भर्खरै नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको छ । नतिजा आजै बेलुका आउने निर्वाचन कार्यालयले जनाएको छ ।