डा. शेखर कोइरालाले १० दलीय गठबन्धन कांग्रेसकै काँधमा रहेको जिकिर

काठमाडौँ । चैत ७, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई अब गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ ।
मङ्गलवार काठमाण्डौमा आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदानु विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमजोरी कांग्रेसबाट हुन नहुने बताउनुभयो ।
उहाँले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीररूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस केही दिनभित्र नै सरकारमा जाँदैछ । अब हामीलाई गल्ती गर्ने छुट छैन । कुनै कमजोरी नेपाली कांग्रेसबाट अब हुन हुँदैन ।
यी सबै कुरालाई कांग्रेसले गम्भीररूपले लिएको छ । १० दलीय गठबन्धनलाई सम्हालेर अघि बढ्ने जिम्मा नेपाली कांग्रेसलाई छ । यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नुपर्छ ।’
नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताउनुभयो । लोकतन्त्रविना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीररूपमा लिएको उहाँको भनाइ छ ।