सांसद पौड्यालद्धारा युवाहरूलाई बोल्न नदिएकोबारे सरकार समक्ष प्रश्न

काठमाडौं । चैत ८, राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मङ्गलवार (हिजो) केही युवाहरूलाई प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ ।
मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा उहाँविरुद्ध नाराबाजी गरेका थिए ।
नाराबाजीलगत्तै प्रहरीले युवाहरूको मुख थुनेर बोल्न नदिई उनीहरूलाई पक्राउ गरेको थियो । त्यही विषयमा आज (बुधवार) सांसद पौड्यालले यसबारेमा सरकारको जवाफ माग गर्नुभएको हो ।
राष्ट्रिय सभा सदस्य पौड्यालले युवाहरू बोल्न खोजेका बेलामा प्रहरीले उनीहरूको जबरजस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोज्नुभएको हो ।
उहाँले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन भन्दै प्रश्न पनि गर्नुभयो ।