गण्डकी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी केन्द्र

सहयात्रा टिभी

काठमाडौं । चैत १०, नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि माओवादी केन्द्रले एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले पार्टीका मन्त्रीहरुले मुख्यमन्त्रीलाई राजीनामा दिएर सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी भएको जानकारी दिए।

समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गर्न शुक्रबार दिउँसोका लागि प्रदेश संसदीय दलको बैठक बोलाइएको चुमानले जानकारी दिए।

बिहीबार माओवादी अध्यक्ष प्रचण्डले गण्डकी प्रदेश संसदीय दलका नेता चुमानलाई फोन गरेर प्रदेश सरकारबाट बाहिरिन र समर्थन फिर्ता लिन निर्देशन दिएका थिए।

एमाले नेता अधिकारी नेतृत्वको सरकारमा माओवादीका २ मन्त्री छन्। माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जुग्जाली उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री छन्।

६० सदस्यीय प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन ३१ सिट चाहिन्छ। यसअघि एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारीको नेतृत्वमा सरकार गठन भएको थियो।

केन्द्रमा राष्ट्रपति निर्वाचनका बेला राजनीतिक समीकरण फेरिएपछि प्रदेशमा पनि सरकारहरु परिवर्तन हुने भएका हुन्। गण्डकी प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बन्ने भएको छ। कांग्रेसका २७ र माओवादी केन्द्रका ८ सांसदसहित प्रदेश सभामा ३५ सिट पुग्ने देखिन्छ।

एकीकृत समाजवादी समेत नयाँ सत्ता समीकरणमा भएकोले मनाङबाट स्वतन्त्रबाट निर्वाचित भएर पछि समाजवादीमा प्रदेश गरेका राजीव गुरुङ (दीपक मनाङे) पनि समीकरणमा सहभागी हुने भएका छन्। यो सँगै ३६ सीट पुग्ने र सरकार निर्माण हुने देखिन्छ।

 

प्रकाशित : 24 March, 2023

प्रतिक्रिया दिनुहोस्