आकाशमै ठोक्किनबाट बचे इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौँ । चैत १२, गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो ।
एयर इण्डियाको जहाज एक्कासी तल आएपछि र नेपाल एयरलाइन्सको जहाजसँग झण्डै आकाशमै ठोक्किनबाट बचेका छन् ।
तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो ।
एक्कासी १९ हजारफिटबाट तल झरेको एयर इण्डियाको जहाजलाई १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो ।
एयर इण्डियाको जहाज एक्कासी तल आएपछि दुवै जहाजको ककपिटमा रहेको (ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम ‘टिकास’)ले सचेत गराएको थियो ।
सिमराको आकाशमा होल्ड गरिरहेका यी दुई जहाजबीच आवश्यक दुरी कायम नगरेको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ ।
छानविन पूरा भई प्रतिवेदन नआएसम्मका लागि एयर ट्राफिक कन्ट्रोलरको भूमिकामा रहेका एटीसीलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको छ ।
यो घटनापछि एयर इण्डियाका पाइलटलाई कारवाही गर्न त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई नेपालको नागरिक उड्डयन प्राधिकरणले पत्र लेखेको छ ।