ठेकेदारले भुक्तानी नपाएको भन्दै विद्यालयमा लगाए ताला 

सहयात्रा टिभी

काठमाडौँ । चैत १३, सल्यानको एक विद्यालयमा ठेकेदारले भुक्तानी नपाएको भन्दै ताला लगाएको जनाएको छ ।

भवन निर्माणको भुक्तानी नपाएको भन्दै ठेकेदारले सल्यानको एक विद्यालयमा ताला लगाइदिँदा वार्षिक परीक्षा र प्रशासनिक कामकाज ठप्प भएको छ ।

त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयबाट भुक्तानी नपाएको भन्दै ठेकेदार दामोदर वलीले दुईवटा भवनमा तालाबन्दी गरिदिएका हुन् ।

चैत १७ गतेदेखि सुरु हुने एसईई परीक्षाका लागि उक्त विद्यालयमा सेन्टर तोकिएको छ । तर विद्यालयमा लागेको तालाका कारण के गर्ने भनेर निर्णय गर्न नसकेको प्रधानाध्यापक रोका बताउँछन् ।

नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत २०७७/८८ मा दुई तलाको आठ कोठे र २०७८/७९ मा चार कोठे गरी दुईवटा भवन निर्माण गरिएको छ ।

दुई करोड ५० लाख लागत रहेको उक्त भवनको जिम्मा जिज्ञासु वीसी निर्माण सेवाले पाएको थियो । असोजमा निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सरेको थियो ।

विद्यालय प्रशासनका अनुसार निर्माण कम्पनीले अन्तिम भुक्तानी वाफत ४५ लाख रुपैयाँ पाउन बाँकी छ । तर विद्यालय भवन निर्माण कम्पनी (ठेकेदार) विरुद्ध अख्तियारमा मुद्दा परेकाले विद्यालयको खातामा आएको रकम निकासा गर्न समस्या भएको विद्यालयले जनाएको छ ।

प्रकाशित : 27 March, 2023

प्रतिक्रिया दिनुहोस्