सुकुम्वासी मोर्चाले मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरे

काठमाडौँ । चैत १३, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले प्रदर्शन गरेको जानकारी प्राप्त भएको छ ।
संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै उनीहरूले आज सोमवार मेयर साहविरुद्ध काठमाण्डौको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरेका हुन् ।
आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेको भन्दै सुरु गरिएको विरोध प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले जानकारी दिएको छ ।
भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान, कानुन विपरीत उठिबास लगाउने प्रयास नगर्न चेतावनीसमेत दिएका छन् ।
विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःसर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी भएको थियो ।