बाग्लुङमा दुई पटक म्याद थप गर्दा समेत सडकको कालोपत्र हुन सकेन

सहयात्रा टिभी

काठमाडौँ । चैत १३, बाग्लुङमा ठेकेदार कम्पनीसँग डेढ वर्षअघि नै कालोपत्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत यो सडकको कालोपत्र सम्पन्न हुनसकेको छैन ।

गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्र सम्पन्न भएको छैन् । समयमै कालोपत्र नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ ।

स्थानियबासीका अनुसार निर्माण व्यवसायीले लापरबाही नगरी सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुने बताउ छन् ।

यो ठेक्का आर्थिक वर्ष २०७५/०७६ लगाइएको थियो । कोरोना महामारी र आर्थिक वृद्धिदरको कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको थियो ।

अहिले बिछ्याएको ग्राभेलमा समेत त्रुटि देखिएकाले सच्चाउन लगाइएको छ । झन्डै ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये अहिले गलकोटको हटियादेखि सयपत्री जलविद्युत् आयोजनासम्म १० किलोमिटर मात्रै कालोपत्रको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीसँग २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का लिएको १० किलोमिटरमध्ये साढे पाँच किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरे पनि बाँकी खण्डमा काम ढिलो भएको छ ।

यो सडकको अहिलेसम्मको प्रगति ५० प्रतिशत मात्रै भएको छ । अहिलेसम्म १२ करोड रुपैयाँभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ ।

सडक कालोपत्रमा ढिलाइ हुँदा गलकोट नगरपालिका वडा नं ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

प्रकाशित : 27 March, 2023

प्रतिक्रिया दिनुहोस्