महानगरले भ्वाङ पारेको गुम्बजमा बैंकले ढलान गर्यो

काठमाडौं । चैत २३, काठमाडौं महानगरपालिकाले खनेर भ्वाङ पारेको टुकुचा खोलाको गुम्बजमा बैंकले ढलान गरेको छ ।
भत्काएको टुकुचा खोलाको भूमिगत संरचना (गुम्बज)मा जथाभावी ढंगले कंक्रिट ढलान भएको पाइएको थियो ।
काठमाडौं महानगरपालिका–१, हात्तिसारस्थित सिद्धार्थ बैंकको पार्किङ स्थलमा महानगरले भ्वाङ पारेको गुम्बजमा बैंकले ढलान गरेर पार्किङ गर्न योग्य बनाएको छ ।
पार्किङ गर्ने ठाउँको अभाव हुनका साथै दुर्गन्ध फैलिएकोले समाधानको लागि पटक–पटक अनुरोध गर्दा महानगरपालिकाले ‘पुरिदिए हुन्छ’ भन्ने जवाफ दिएपछि गुम्बजमा ढलान गरेको बैंकका एक कर्मचारीले बताए । ढलानलाई माटोले पुरेर सवारीहरु पार्किङ भइरहेको छ ।
महानगरका मेयर बालेन्द्र साह (बालेन) ले ‘उत्खनन्’ गरेर छाडेपछि टुकुचा खोलाको १३० वर्ष पुरानो (पुरातत्व विभाको प्रतिवेदन अनुसार) भूमिगत संरचनामा जथाभावी हुन थालेको छ । मेयरको सचिवालयले ‘यो विषयमा बुझ्नुपर्छ’ भन्दै जवाफ दिन चाहेन ।
महानगरका प्रवक्ता नविन मानन्धर टुकुचाको पछिल्लो अवस्थाबारे आफूलाई जानकारी नभएको बताउँछन् । उनले महानगरको बजेटबाहेक अन्यत्रबाट सम्पदा चलाउन नै नपाइने पनि बताए ।