इङ्लिस प्रिमियर लिग : लिभरपुल र आर्सनलको बराबरी
लन्डन । चैत २७, इङ्लिस प्रिमियर लिग लिडर आर्सनल ०–२ को अग्रता जोगाउन नसक्दा आइतबार राति लिभरपुलसँग २–२ गोलको बराबरीमा अल्झिएको छ। लिभरपुलको मैदानमा भएको खेलको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै भ्रमणकारी टिमलाई अग्रता दिलाएका थिए।
सुरुआती ३० मिनेटसम्म घरेलु टिममाथि हाबी बनेको आर्सनलले २८औं मिनेटमा गाब्रियल जिजसको गोलसँगै अग्रता दोब्बर पार्यो। मार्टिनेलीले नै दिएको पासलाई जिजसले गोलमा परिणत गरेका थिए।
सुरुआतमा दबाबमा परेको लिभरपुलले पलिहो हाफको अन्त्यतिर खेलमा फर्किने प्रभावकारी संकेत देखाएको थियो। सोही क्रममा पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा मोहम्मद सालाहले गोल गर्दै स्कोरलाइन १–२ मा ल्याएका थिए।
दोस्रो हाफमा पनि आर्सनलको रक्षापंक्तिमाथि तीव्र दबाब कायम राखेको लिभरपुलले ५४औं मिनेटमा पेनाल्टी पाएको थियो। तर, सालाह त्यो पेनाल्टीमा गोल गर्न चुकेका थिए।
यद्यपि, निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा रोबर्टो फिर्मिन्होले गरेको गोलसँगै लिरभपुलले बराबरी गर्यो।
बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउने मौका गुमाएको छ। ३० खेलबाट ७३ अंक जोडेको आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अंकले अगाडि छ।
तर, आर्सनलले सिटीको मैदानमा एक खेल खेल्न बाँकी नै छ भने सिटीले २९ खेल मात्रै खेलेको छ। यो बराबरीसँगै उपाधि दौड भने रोमाञ्चक बनेको छ।
बराबरीसँगै २९ खेलबाट ४४ अंक जोडेको लिभरपुल लिग तालिकाको आठौं स्थानमा छ। आइतबार राति नै भएको खेलमा क्रिस्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ गोलको नतिजामा पराजित गरेको थियो।