महानगरपालिकाले आज पनि सिंहदरबारको फोहर नउठाउने

काठमाडौं । चैत २७, काठमाण्डौ महानगरपालिकाले प्रमुख प्रशासनिक थलो सिंहदरबारको फोहर आज पनि नउठाउने अडान लिएको छ ।
मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारको फोहर उठेको छैन । आज पनि फोहर नउठ्ने महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनु भएको छ । फोहर कहिलेदेखि उठाउने भन्ने अनिश्चित छ ।
‘हामीले निर्देशन अनुसार काम गर्ने हो’, मानन्धरले भन्नुभयो– ‘सम्भवतस् सम्बन्धित पक्षबीच वार्ता र सहमति भए पछि फोहर उठ्ला ।’ अस्ति मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै सङ्घीय सरकारले सहयोग नगरेको भन्दै सिंहदरबारको फोहर नउठाउने घोषणा गर्नुभएको थियो ।
उहाँको यो स्टाटस पछि सिंहदरबारको फोहर उठेको छैन । महानगर क्षेत्रको ढल व्यवस्थापनदेखि सुकुम्बासी समस्या समाधानका लागि असहयोग गरेको भन्दै दबाब दिन महानगरपालिकाले सिंहदरबारको फोहर नउठाएको हो ।