राष्ट्रपति कार्यालयले निजी संस्थालाई फाहोर उठाइदिन अनुरोध

काठमाडौं । चैत २७, राष्ट्रपति कार्यालयले सोमबार विहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको जानकारी प्राप्त भएको छ ।
शितल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शितल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन भनेको हो ।
तर फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले नलैजान दिएको निर्देशनले फोहोर नउठाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्र प्रसाद घिमिरेले बताए । ‘हामीलाई फोहोर उठाउन राष्ट्रपति कार्यालयबाट फोन आए पनि फोहोर नउठाउन महानगरका मेयरको निर्देशनले उठाएका छैनौं,’ सञ्चालक घिमिरेले भने ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारबाट फोहोर नउठाउन निर्देशन दिएपछि अहिले प्रधानमन्त्री कार्यालय सहित सिंहदरबार भित्रका कार्यालयबाट फोहोर उठेको छैन ।
फोहोरमैला व्यवस्थापन संघका अनुसार सरकारी कार्यालयबाट दैनिक करिब ९ टन फोहोर संकलन हुन्छ । महानगरपालिकाले फोहोर नउठाउन दिएको निर्देशन कायम भएसम्म फोहोर नउठ्ने संघले जनाएको छ ।