हतियारसहित महोत्तरीमा एक जना पक्राउ

महोत्तरी । बैशाख १, हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलिरहेका एक जना पक्राउ परेका छन् । भरुवा बन्दुकको प्रयोग गरी वनमा वन्यजन्तुको सिकार खेलिरहेका बर्दिबास-१४ बस्ने भीम भनिने गणेश बहादुर मगर पक्राउ परेका हुन् ।
बिहीबार बेलुका केही व्यक्तिहरू सिकार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले हतियार फ्याकेर भाग्दै गरेको अवस्थामा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगरले अर्को एक जना अविचन सदासमेत सग्लन भएको बयान दिएका छन् । प्रहरीले वन परिसरबाट झाडीमा लुकाइएको दुई थान भरुवा बन्दुक पनि फेला पारेको छ ।
एउटा बन्दुकमा एक राउन्ड फायरिङ्ग गरेको अर्कोमा तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरिले जानकारी दिए ।
तयारी अवस्थामा रहेको बन्दुकलाई प्रहरीले डिस्पोज गरेको छ भने हातहतियारमा प्रयोग हुने सामाग्रीसहित दुई नाल बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका मगरलाई भने इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।