म्याग्दीको तिप्ल्याङमा अनियन्त्रित भई बस दुर्घटना

काठमाडौँ । बैशाख १, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा अनियन्त्रित भई बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
काठमाण्डौबाट मुस्ताङ जाँदै गरेको बा ३ ख ९६७४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवार २३ मध्ये चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी किरण लामाले जानकारी दिनुभयो ।
बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो । घाइते हुनेहरूमा सोलुखुम्बुकी ३९ वर्षीया निमलमु शेर्पा, ओखलढुङ्गाकी २७ वर्षीया छम्जी शेर्पा, सिन्धुपाल्चोकका ३१ वर्षीय मिनमार तामाङ र ५० वर्षीय पूर्ण लामा रहेका सूचना अधिकारी लामाले जानकारी दिनुभयो ।
बस दुर्घटनामा परेर घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।