मिटरब्याज पीडित र प्रहरीबीच झडप

सहयात्रा टिभी

कठमाडौं । बैशाख ४, काठमाडौंको शान्तिवाटिकामा प्रदर्शन गर्ने तयारी गरेका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको जानकारी प्राप्त भएको छ ।

झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए ।

त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा प्रहरीको लाठी लागेर ४/५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो ।

तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा आएको छ ।

 

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्