सम्झौता कार्यान्वयन नभए काठमाडौंको फोहोर रोक्ने चेतावनी : ककनी गाउँपालिका

काठमाडौँ । बैशाख ७, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर रोक्ने चेतावनी दिएका छन् ।
उनीहरुले सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् । ५ वैशाखमा बसेको दुई पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको ककनी गाउँपालिकाले जनाएको छ ।
वर्गीकरण गरेर मात्रै फोहोर व्यवस्थापन गर्ने लगायतका विषयमा गत २३ जेठ, २०७९ मा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका , धुनिवेशी नगरपालिका र ककनी गाउँपालिका तथा गत २६ जेठमा नै काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच सम्झौता भएको थियो ।
‘काठमाडौंको फोहोरको जिम्मा हामिले लिएका छैनौं, यहाँ सधैं फोहोर फाल्ने अनि सम्झौता गर्ने तर कार्यान्वयन चाहिं नगर्ने रु फोहोर र मान्छे एक ठाउँमा बस्न सक्दैन’ अध्यक्ष लामाले भने ।
वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोलि गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुँदे माग उनीहरुले अघि सारेका छन् ।
दुवै पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया तुरुन्त अगाडि बढाउनु पर्ने माग उनीहरुले राखेका छन् ।