कञ्चनपुरका दर्जन ठाउँमा डढेलो

कञ्चनपुर । बैशाख ९, गर्मी बढेसँगै कञ्चनपुरको चुरेक्षेत्रमा पनि डढेलोको प्रकोप बढेको छ । कञ्चनपुरमा ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्म एक दर्जन बढी ठाउँमा डढेलो लागेको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्र, बेदकोट नगरपालिकाको बेदकोट ताल र चोरपानी क्षेत्र, शुक्लाफाँटा नगरपालिकाको वडा ५ र ८ को उत्तरी क्षेत्रमा डढेलो लागेको छ ।
‘बेदकोट र भीमदत्तमा मात्रै आधा दर्जन बढी ठाउँमा डढेलो लागेको छ,’ चुरे संरक्षण सञ्जाल कञ्चनपुरका अध्यक्ष रवीन्द्र कुँवरले भने, ‘ब्रह्मदेव र बेदकोटमा भिरालो भएका कारण नियन्त्रणमा ल्याउनै सकिएन ।’ उनका अनुसार सामुदायिक वनका उपभोक्ता र वनकर्मीहरू नियन्त्रणको प्रयास गरिरहेका छन् ।
चुरेमा डडेलधुरा र कञ्चनपुर जोड्ने बाटोमा डढेलोको बढी प्रकोप रहेको अध्यक्ष कुँवरले बताए । उनका अनुसार कञ्चनपुर र डडेलधुरा आउजाउ गर्नेहरूबाट समेत डढेलो लागेको हुन सक्छ । यसैगरी चोरी तस्करी गर्नेहरूले पनि डढेलो लगाएका हुन सक्ने देखिन्छ । ‘डढेलो लागेको क्षेत्रमा नयाँ पालुवा चर्न चित्तलहरू आउँछन्,’ उनले भने, ‘नयाँ पलाएको पालुवा चर्न आएका चित्तल मार्न सजिलो हुने भएकाले तस्करहरूले यो मौका छोप्छन् ।’ उनका अनुसार सल्लाको लिसो र काठ तस्करी गर्नेहरूले समेत संरक्षणकर्मीलाई अल्झाउन यस्तो गरेको हुन सक्छन् ।
यसैगरी, लालझाडी मोहना संरक्षित क्षेत्रमा पनि डढेलो लागेको छ । पिपरिया र चुरे फेदीमा संरक्षित क्षेत्रमा पनि डढेलो लागेको छ । डिभिजन वन कार्यालयका अनुसार डढेलोका कारण हालसम्म ११० हेक्टर बढी वन क्षेत्र प्रभावित भएको छ । पिपरैयामा ७० हेक्टर र चुरे फेदीमा ५० हेक्टर हाराहारी वन क्षेत्र डढेलोले प्रभावित भएको छ ।
ब्रह्मदेव र बेदकोट क्षेत्रमा कति वन क्षेत्र प्रभावित भयो भन्ने यकिन हुन नसकेको डिभिजन वन कार्यालयले जनाएको छ । उनका अनुसार ब्रह्मदेव र बेदकोट ताल क्षेत्रमा भिरालो भएका कारण नियन्त्रणमा लिन समस्या भएको छ ।
कञ्चनपुरमा शुक्रबार बिहान केही ठाउँमा वर्षा भएको छ । यसले डढेलो केही नियन्त्रण भएको छ । डिभिजन वन कार्यालयले डढेलो नियन्त्रणका लागि अग्निरेखा बनाउनेदेखि वन हेरालुलाई तालिम र औजार प्रदान गर्दै आएको छ । तर चुरे क्षेत्रमा भिरालोको कारण डढेलो नियन्त्रणमा समस्या हुने गरेको छ । कुनै बेला डढेलो नियन्त्रणमा लिन जाने व्यक्ति पनि जोखिममा परेका छन् ।