चितवनका दुई वटा केन्द्रमा स्थगित मतदान सुरु

काठमाडौं । १० चितवन क्षेत्र नम्बर २ को उपचुनावका क्रममा दुई वटा केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको मतदान फेरी सुरु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ केन्द्रमा र वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो ।
रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए ।
मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो । सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो ।
प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । त्यसक्रममा भागाभाग भएको थियो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो भने विद्यालयको मूल गेट बन्द गरिएको थियो ।
अवस्था सामान्य भएपछि विद्यालयको गेट खोलिएको छ र मतदान पुनः सुरु भएको छ ।