अमेरिकामा उडिरहेको विमानमा आगो लाग्यो
सहयात्रा टिभी
एजेन्सी । बैशाख ११, अमेरिकाको ओहायोमा उडिरहेको एक विमानमा साेमबार आगो लागेको छ ।
ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७ विमानमा आगो लागेको हो । उडेको केही मिनेटमै चरासँग ठोक्किएको विमानमा आगो लागेको थियो ।
विमानमा आगो लागेपछि चालकले विमानलाई सोही विमानस्थलमा सुरक्षित रुपमा अवतरण गराएका छन् । सुरुमा विमानको इन्जिनमा आगो लागेको आशंका गरिएकोमा एयरलाइन्सले इन्जिनमा आगो लागेको नभई चरासँग ठोक्किएका कारण आगो लागेको जनाएको छ ।
विमानमा कति जना यात्रु थिए भन्ने खुलाइएको छैन । विमानमा आगो लागेपछि सोही विमानस्थलबाट अन्य उडानहरु अवरुद्ध भएका थिए । अमेरिकाको संघीय उड्डयन प्रशासनले घटनाको विस्तृत छानविन गर्ने जनाएकाे छ ।