सबै पक्ष मिलेर अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न आवश्यक : अर्थमन्त्री महत

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, अर्थमन्त्री डा. प्रकाशशरण महत सत्तापक्ष र प्रतिपक्ष मिलेर अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौती समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताउनुभयो ।

उहाँले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरूको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अर्थतन्त्र सुधारका लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्व तहमा छलफल भइरहेको उहाँको दाबी छ ।

अर्थमन्त्री महतले सदनमा सांसदहरूले भनेकोजस्तो अर्थतन्त्र कहालीलाग्दो अवस्थामा नभएको भन्दै सरकार अर्थतन्त्र सुधारोन्मुख गराउनसक्ने अवस्थामा रहेको बताउनुभयो ।

उहाँले अर्थतन्त्रमा समस्याका चाङ रहेको स्वीकार्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गर्नुभयो । उहाँले शिथिलतामा पुगेको अवस्थालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको जिकिर गर्नुभयो ।

उहाँले इमानदारिताका साथ क्षमता र योग्यताले भ्याएसम्म आफू र पार्टीभन्दा माथि उठेर देश र नागरिकलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्