सुख्खा पहिरो खसेर अरुण नदीको टनेल थुनियो

काठमाडौँ । बैशाख १७, सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’मा पहिरो खसेपछि अरुण नदीको टनेल थुनिएको छ ।
मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।
अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए । ‘टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो’, गोदारले भने ।
अरुण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेल मार्फत नदी बग्दै आएको थियो ।
टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ । पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ ।
सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ ।