कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीद्धारा दोस्रो पटक संसदमा पत्र

काठमाडौँ । बैशाख १८, प्रहरी प्रधान कार्यालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको जनाएको छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले दोस्रो पटक प्रहरी प्रधान कार्यालयको पत्र आएको पुष्टि गरे । यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।
उक्त पत्र प्रतिनिधिसभा नियमावली २०७९ बन्नु भन्दमा अगाडि आएकाले नयाँ नियमावली अनुसार स्वीकार गर्न नसकिने संसद सचिवालय र सभामुख देवराज घिमिरेको भनाइ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हो ।
सांसदहरुले ध्यानाकर्षण गर्दा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ बनेपछि कुनै पनि सांसद फरार रहेको जानकारी औपचारिक रुपमा कुनै निकायले नगराएको बताएका थिए ।
जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकामा उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते थुनामा राख्न आदेश दिएको थियो । तर त्यसपछि महतो फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पहिलो पटक संघीय संसद सचिवालयलाई लेखेको पत्रमा कोइरी फरार रहेको जानकारी मात्रै थियो । यसपटक फरार रहेको जानकारीका साथै पक्राउ गर्न सहयोगका लागि समेत संसद सचिवालयलाई आग्रह गरिएको छ ।
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्ने भएका छन् । प्रतिनिधिसभा नियमावली २०७९ मा कुनै पनि सांसद फरार रहेको अवस्थामा निलम्बनमा पर्ने व्यवस्था छ ।