मन्त्री किरातीद्धारा‘जारी’फिल्मलाई गाउँगाउँमा देखाउन सुझाव
काठमाडौँ । बैशाख १९, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फिल्म ‘जारी’ हेरेपछि यसलाई गाउँगाउँमा लगेर देखाउन निर्मातालाई सुझाव दिएका छन् ।
मन्त्री किरातीले सोमबार बेलुका कमलपोखरीस्थित बिग मुभिजमा ६ बजेको शोमा पूरै समय बसेर चाखपूर्वक हेरेका जनाएका छन् ।
निजी सहायक र सुरक्षाकर्मीसँग बसेर फिल्म हेरेका मन्त्री किरातीले एउटा पनि फोन कल नउठाई जारी हेरेको निर्माता मणिराम पोखरेलले बताए । ‘फिल्म हेर्दा उहाँका आँखा रसाएका थिए ।
फिल्म हेरेपछि मन्त्री किरातीले फेसबुकमा स्टाटस पनि पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘मूल्यमा बाँचेको समाज र संस्कृति, क्रमशः कृत्रिम हुँदै गएको सम्बन्धलाई मौलिकतामा फर्काउने जरा, जीवन र जगतको सुन्दर प्रस्तुति ‘जारी’ हेरियो ।’
उपेन्द्र सुब्बाको निर्देशन र रामबाबु गुरुङको निर्माण रहेको फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथा र विवाह संस्कृतिको कथा भन्छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले अहिलेसम्म घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँ भन्दा बढी ग्रस कमाइ गरेको छ ।