विराटनगरमा गरे एक वृद्धले ऋणीको घर अगाडि आत्मदाह

काठमाडौं । बैशाख २०, रकम फिर्ता नगरेपछि विराटनगरमा एक वृद्धले ऋणीको घर अगाडि आत्मदाह गरेका छन् । उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भयो ।
विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले विराटनगर महानगरपालिका–४ तित्रिगाछीका प्रगति भनिने गति पोखरेलको घर अगाडि आत्मदाह गरेका हुन् ।
गत वैशाख १४ को बिहान करिब साढे १० बजे पोखरेलको घरमा पुगेर नेपालले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर घाइते भएका उनलाई रेडप्लस अस्पतालमा भर्ना गरिएको थियो ।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार मृतक नेपालले पोखरेललाई २०७२ सालमा ऋण दिएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार १५ वैशाखमा नेपालको मृत्यु भएपछि आत्महत्या दुरुत्साहन आरोपमा विराटनगर–४ तित्रीगाछीका प्रगति भनिने ५५ वर्षीय गति पोखरेल र उनकी बहिनी ३६ वर्षीया सबिना पोखरेल पक्राउ परेका हुन् ।
विराटनगर महानगरपालिकाको कार्यालय सहयोगीबाट अवकाश पाएका नेपालले दिएको ऋण उठाउन अनेक प्रयास गरे तर फिर्ता पाएनन् । ऋण उठाउने प्रयास असफल भएपछि ऋणीको घरमै पुगेर आत्मदाह गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।
‘२०७२ सालमा २१–२२ लाख रुपैयाँ ऋण दिनुभएको रहेछ, तर त्यो पैसा नउठेपछि ऋणीको घरमै पुगेर आत्मदाह गरेको देखियो’, उनले भने, ‘स्थानीयले खबर गरेपछि बृद्धलाई उपचारका लागि अस्पताल लगियो ।’ बृद्धले आत्मदाह गर्दा गति पोखरेल घरमै थिए ।
‘उहाँहरुको पारिवारिक सम्बन्ध खुल्दैन, चिनजानका आधारमा ऋण दिएको देखिन्छ’, उनले भने, ‘ऋण उठाउन नसकेपछि आत्मदाह गरेको देखियो ।’
मृतककी श्रीमतीले दिएको जाहेरीका आधारमा दाजुबहिनीलाई आत्महत्या दुरुत्साहन आरोपमा वैशाख १८ गते पक्राउ गरिएको उनले बताए ।
सामान्य परिवारका पोखरेलले कुन प्रयोजनका लागि ऋण लिएका हुन् भन्ने खुलिनसकेको डीएसपी दाहालले बताए । प्रहरीले दाजु गतिलाई उनकै घरबाट र बहिनी सबिनालाई झापाको कमल गाउँपालिका– ४ बाट पक्राउ गरेको बताएको छ ।
पक्राउ परेकाहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको डीएसपी दाहालले बताए ।