गएको ८ वर्षमा मरे २२० गैँडा

काठमाडौं । बैशाख २१, चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी गएको ८ वर्षमा २२० वटा गैँडा मरेको तथ्यांक प्राप्त भएको छ ।
आर्थिक वर्ष २०७२/७३ देखि अहिलेसम्ममा ती गैँडा मरेका हुन् । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको अवधिमा ५१ वटा गैँडा मरेका छन् ।
यस्तै, चोरी सिकारीबाट ९, करेन्ट लागेर ८, बिरामी तथा रोगी भएर १२, खाडलमा परेर ३, विषाक्त खानेकुरा खाएर ५, बाघको आक्रमणबाट २०, तथा कारण नखुलेका २९ वटा गैँडा मरेका उहाँले जानकारी दिनुभयो ।
निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि आव २०७९/८० सम्म ३ सय २३ वटा गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बुढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताउनुभयो ।
गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।