देउवाको कार्यशैलीमाथि कांग्रेसकै नेताहरुले उठाए प्रश्न

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २१, नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथी कांग्रेसकै नेताहरुले प्रश्न उठाएका छन् ।

बुधबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारले सभापति देउवा विधानसम्मत तरिकाले नचलेको भन्दै आलोचना गरेका हुन् ।

केन्द्रीय समितिले अझै पूर्णता नपाएको, विभागहरुको गठन नगरेको, भ्रातृ संस्थालाई पूर्णता नदिएको लगायतका विषय उठाएर नेताहरुले देउवाको आलोचना गरेका हुन् ।

विधान अनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुनुपर्छ । तर महाधिवेशन सकिएको डेढ वर्ष बितिसक्दा पनि सभापति देउवाले १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छैनन् ।

महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभागको प्रमुख समेत हालसम्म तोकिएका छैनन् । ‘केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । डेढ वर्ष वितिसक्दा विभाग बनेको छैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘सभापतिको ढिलासुस्तीका विषयमा कुरा उठेको हो ।’

सहमहामन्त्री जीवन परियारले मन्त्रिपरिषद विस्तारमा असन्तुष्टि राखेका थिए । कांग्रेसबाट ८ मन्त्री बनाउँदा समावेशितालाई ध्यान नदिएको उनको आरोप छ । कांग्रेसले पठाएका बनाएका ८ मन्त्रीमा दलितबाट एकजनाले पनि अवसर पाएका छैनन् ।

 

 

प्रकाशित : 4 May, 2023

प्रतिक्रिया दिनुहोस्