रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठले दिएको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ । बैशाख २५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाही गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा दिएको रिटमाथिको सुनुवाइ आज हुँदै छ ।
गत चैत्र २४ गते उनले आफूमाथि गरिएको कारबाही गैरकानुनी भएको भन्दै सांसदमा पुनर्वहाली गर्नुपर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।
श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टीको ‘कोर टिम’ ले साढे २ करोड पैसा मागेको र त्यसको व्यवस्थापन गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
‘केन्द्रीय समितिको बैठकले पार्टी विधानको धारा ५६ बमोजिम पार्टी सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज (दलबाट निष्काशन) गर्ने निर्णय गरेको जानकारी गराइन्छ,’ रास्वपाले संसद्मा पेस गरेको पत्रमा भनिएको छ, ‘सो निर्णयबमोजिम निजको सांसद पद रिक्त हुने भएकाले उक्त रिक्त पदमा कानुनबमोजिम पद पूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहुन अनुरोधसहित राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम सादर सूचित गराउँदछौं ।’