जंगलमा लागेको डढेलो निभाउन गएका आमाछोराको मृत्यु

विराटनगर । वैशाख २९, तेह्रथुममा जंगलमा लागेको आगो निभाउन गएका आमाछोराको जलेर मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरको तल्लो क्षेत्रको जङ्गलमा लागेको डढेलो । तस्वीर : रासस
छथर गाउँपालिका वडा नम्बर ३ पञ्चकन्यामा जंगलमा लागेको आगो निभाउन गएका ५५ वर्षीया दिलकुमारी भुजेल र १६ वर्षीय छोरा कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
आगो नियन्त्रणभन्दा बाहिर गएपछि उनीहरूले बच्नका लागि नजिकैको खोल्सीमा हाम फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी निरीक्षक ओलीले भने ‘हामीले पनि मान्छे हराएको भनेर खोजी गर्दा आमाछोरा एकै ठाउँमा जलेको अवस्थामा भेट्यौं ।’
छथर गाउँपालिका वडा नम्बर ३ पञ्चकन्याको गढी सल्लेरी सामुदायिक वनमा बुधबारदेखि डढेलो लागेको थियो । आगो गाउँमा पस्न थालेपछि आमछोरा नै आगो निभाउन जंगल गएका थिए ।
आगलागीबाट ४ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । वडा नम्बर ३ मा एक घर र ४ नम्बरमा थप तिन घर जलेका छन् । आगो निभाउने क्रममा ४ जना घाइते भएकोमा तीनजना उपचारपछि घर फर्किएका छन् । बाँकी एकजनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।
गाउँमा पसेको डढेलो नियन्त्रणमा आए पनि वनमा जारी नै रहेको प्रहरीले बताएको छ ।