कर्नाटकमा कंग्रेसलाई बहुमत
नयाँदिल्ली । बैशाख ३१, दक्षिण भारतको कर्नाटक प्रदेशमा कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ । विधानसभाका २ सय २४ सिटमध्ये कंग्रेसले १ सय ३६ सिट जितेको छ । सरकार बनाउन १ सय १३ सिट चाहिन्छ । अघिल्लो पटक १ सय ४ सिट जितेको भाजपा यस पटक ६५ सिटमा खुम्चिएको छ ।
कंग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ र मानहानि मुद्दामा अदालतले दोषी ठहर गरेर उनको सांसद पद गुमेपछि भएको पहिलो चुनावमा कंग्रेसले सफलता हात पारेको हो । उनले भारत जोडो यात्राका क्रममा २१ दिन कर्नाटकमा बिताएका थिए । अधिकांश ‘एक्जिट पोल’ ले कंग्रेसले चुनाव जित्ने देखाइसकेका थिए ।
भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख प्रचारकका रूपमा कर्नाटकको चुनावमा उतारेको थियो तर उनको ‘जादु’ चलेन, जसका कारण भाजपाले त्यहाँको सत्ता गुमाएको छ ।
कर्नाटकमा भाजपाले सरकार जोगाउन हरसम्भव कोसिस गरेको थियो । धर्मका आधारमा हिन्दु भोट बटुल्न चुनावको मुखमा भाजपाले मुस्लिम समुदायलाई दिँदै आएको आरक्षण कटौती गरेको थियो । भाषणमा प्रधानमन्त्री मोदीले ‘जय बजरंगबली’ को नारा लगाएर मतदातालाई मतपत्रमा ‘हनुमानजीको तस्बिर’ सम्झेर भाजपालाई भोट दिन आग्रहसमेत गरेका थिए । चुनावी प्रचारप्रसार र रोड शोका लागि लगातार समय दिए पनि उनी सफल हुन सकेनन् । यसअघि हिमाचल प्रदेशमा भएको चुनावबाट पनि भाजपाले सत्ता गुमाएको थियो ।
अहिलेको चुनावी परिणामलाई आगामी वर्ष हुने लोकसभा चुनावसँग जोडेर हेर्न थालिएको छ । भारतमा कंग्रेसको लोकप्रियता बढ्दै गएको र मोदीको लोकप्रियतामा ह्रास आएको टिप्पणी भइरहेको छ । चुनावको परिणामले कंग्रेस कार्यकर्ता उत्साहित देखिन्छन् । सन् २०१४ यता खुम्चिँदै गएको कंग्रेस क्रमशः लयमा फर्किंदै गएको उनीहरूको भनाइ छ । छत्तीसगढ, राजस्थान, हिमाचलपछि कर्नाटकमा कंग्रेसको सरकार बन्दै छ । कंग्रेस कार्यकर्ताले चुनाव जित्नुको जस गान्धीलाई दिएका छन् ।
चुनावी परिणामपछि गान्धीले कर्नाटकमा फैलाउन खोजिएको द्वैषको बजार सकिएको बताएका छन् । ‘यो सबैको जित हो, द्वैषको पसल बन्द भएको छ, अब मायाको बजार खुलेको छ,’ उनले भनेका छन्, ‘यो कर्नाटकका जनताको जित हो । देशले प्रेम मन पराउँछ भन्ने कर्नाटकका जनताले देखाएका छन् ।’ कर्नाटकका मतदाताले एउटै पार्टीको सरकारलाई नदोहोर्याउने पुरानो परम्परालाई यस पटक पनि निरन्तरता दिएका छन् । सन् १९८५ यता सरकार चलाइरहेको पार्टीले चुनाव जितेको छैन । सन् २०१८ को चुनावमा भाजपाले बहुमत पाएको थिएन । तर सबैभन्दा ठूलो दल थियो । अन्य दलको समर्थनमा सरकार गठन गरेको थियो ।
दक्षिण भारतको प्रवेशद्वारका रूपमा परिचित कर्नाटकको चुनावी परिणाम कंग्रेसका लागि कुनै पनि ठूलो राज्यमा लामो समयपछि पहिलो पटक प्राप्त जित हो । यो जितसँगै कंग्रेसको मनोबल बढेको विश्लेषकहरूको भनाइ छ । भारतको केन्द्रीय राजनीतिमा भाजपा बलियो स्थितिमा छ । त्यसैले उसलाई टक्कर दिन विपक्षी दल एकजुट हुनुपर्ने आवाज उठिरहेको छ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिस्पर्धामा कसलाई अघि लगाउने भन्ने विषयमा विपक्षी दल एकमत हुन सकेका छैनन् ।
कर्नाटकमा ठूलो अन्तरको विजयले कंग्रेस विपक्षी गठबन्धनको नेतृत्वको दाबेदार बनेको राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार स्मिता गुप्ताले बीबीसी हिन्दीलाई बताएकी छन् । अर्का राजनीतिक विश्लेषक उर्मिलेशले अन्य राज्यमा हुने निर्वाचनले कंग्रेसको भूमिका अझ स्पष्ट पार्ने बताए । ‘अब राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा चुनाव हुने क्रममा छ । यी राज्यहरूमा भाजपा र कंग्रेसबीच प्रतिस्पर्धा छ । यी राज्यमा कंग्रेसको नतिजा राम्रो भए विपक्षी गठबन्धनको नेतृत्व उसको हुनेमा कुनै दुईमत छैन,’ उनले भने । प्रदेशमा भने विपक्षी दलबीच गठबन्धन छ । बिहारमा कंग्रेस, राष्ट्रिय जनता दल र जनता दल युनाइटेडबीचको गठबन्धनले सरकार चलाइरहेको छ । झारखण्डमा झारखण्ड मुक्ति मोर्चा, कंग्रेस र राजदको गठबन्धन सत्तामा छ । महाराष्ट्रमा पनि गत वर्ष सरकार परिवर्तन हुनुअघि शिवसेना, कंग्रेस र राष्ट्रवादी कंग्रेस पार्टीको गठबन्धनले सरकार चलाएको थियो ।