केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रहरी हिरासतमा पूर्वसभासद् शेर्पालाई कुटपिट गरी घाइते पारेको परिवारको आरोप

सहयात्रा टिभी

काठमाडौं । जेठ २, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा मुछिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका पूर्वसभासद् आङटावा शेर्पा घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएका उनी घाइते भएपछि प्रहरीले वीर अस्पताल पुर्‍याएको छ । अस्पतालमा उनको प्रारम्भिक उपचार गराएर प्रहरीले फेरि उनलाई टेकुमा ल्याएको छ ।

उनको टाउकोमा ७ वटा टाँका लगाएको जानकारी प्राप्त भएको छ । संलग्न नै नभएको घटनामा प्रहरीले आरोपी जस्तो व्यवहार गरेर कुटपिट गरेको परिवारको आरोप छ ।

तर, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की शेर्पा बिहान शौचालयमा लडेर घाइते भएको बताउँछन् । ‘उहाँ लडेर घाइते हुनुभएको हो, उपचारपछि फेरि ल्याएका छौं’, कार्कीले थपे, ‘उहाँको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।’

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा हालसम्म पूर्वउपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालिन सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, नेता रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् ।

बादलका छोरा प्रतिक थापा, सल्लाहकार राईका छोरा निरज लगायत अझै फरार छन् । प्रकरणमा प्रहरी अनुसन्धान निष्कर्षतर्फ उन्मुख छ । बुधबारसम्म अनुसन्धान सकेर प्रतिवेदन बुझाउन सरकारी वकिलको प्रहरीलाई निर्देशन छ ।

 

प्रकाशित : 16 May, 2023

प्रतिक्रिया दिनुहोस्