केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमसीसी पासपछि अमेरिकी सेना बाक्लिएको भन्दै खनालद्धारा आपत्ति

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा अमेरिकी सरकारका प्रतिनिधि र सेनाको उपस्थिति बाक्लिएको भन्दै आपत्ति जनाएका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको उनको दाबी छ ।

काठमाडौंमा बुधवार ३१औं मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् ।’

पूर्वप्रधानमन्त्री खनालले अमेरिकाका रक्षामन्त्रीहरु आएर सबैभन्दा पहिले तिब्बतीय क्याम्पमा र नेपालका गृहमन्त्रीकोमा पुग्ने गरेको भन्दै नेपाललाई खेलमैदान बनाउन खोजिएको बताए ।

‘के स्वार्थ छ ? यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् ? के स्वार्थ छ ?’ उनले थपे, ‘नेपाललाई किन खेल मैदान बनाउन कोसिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ ।’

अर्को फरक प्रशंगमा उनले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताएका छन् । उनले यो प्रकरणको निष्पक्षरुपमा छानबिन गरी टुंगोमा पुर्‍याउनु पर्ने बताए ।

 

प्रकाशित : 17 May, 2023

प्रतिक्रिया दिनुहोस्