केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विगतका सबै लगायत दरबार हत्याकाण्डसहितको फेरि छानबिन हुनुपर्छ : प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका सबै भयानक घटनाहरु लगायत विभत्स हत्याकाण्डकहरु सहित दरबार हत्याकाण्डको पनि पुनः छानबिन हुनुपर्ने जानकारी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका हुन् ।

आम जनता पार्टीका सांसदले रौतहटको गौरमा २०६३ सालमा भएको हत्याकाण्डको छानबिन के भइरहेको छ र अपराधीहरु कानुनको दायरामा आउँछन् कि आउँदैनन् भनी प्रश्न गरेका थिए ।

जवाफमा प्रचण्डले गौर मात्र नभई दरबार हत्याकाण्ड, मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाको पनि अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

‘विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन हुनुपर्छ । चाहे त्यो गौरको केस होस् चाहे त्यो भयानक दरबार हत्या काण्ड नेपालको इतिहासकै सबैभन्दा विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ’ प्रचण्डले यस्ता घटना बिर्साउन खोजिएको भन्दै अगाडि भने, ‘मदन आश्रितको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ ।’ यस्ता घटनाको पुनः छानबिनका लागि राजनीतिक स्तरमा सहमति हुनुपर्ने उनको भनाइ छ ।

तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र गोली चलेको थियो । उक्त हत्याकाण्डको छानबिनका लागि गठित समितिले तत्कालिन युवराज दिपेन्द्रले गोली चलाएको ठहर गरेको थियो ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद साहले बुँदागत रुपमा प्रश्न सोधेका थिए ।

प्रकाशित : 18 May, 2023

प्रतिक्रिया दिनुहोस्