आयोगद्धारा प्राध्यापकहरू दलमा आबद्ध भए नभएकोबारे विश्वविद्यालयलाई पत्राचार

काठमाडौं । जेठ ७, निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरू राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको जनाएको छ ।
केही राजनीतिक दलले विश्वविद्यालयका प्राध्यापकहरूलाई केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाइएको भन्दै आयोगले पत्राचार गरेको हो ।
आयोगले सम्बन्धित राजनीतिक दललाई त्यसरी प्राध्यापकलाई जिम्मेवारी दिइएको हो वा होइन ? दिन मिल्ने हो वा होइन ? भन्ने व्यहोराको पत्र पठाएको छ ।
साथै विश्वविद्यालयलाई सम्बन्धित प्राध्यापकहरू राजीनामा दिएर दलीय जिम्मेवारी गएको हो वा होइन भनी प्रश्न सोधेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १४ विपरीत प्राध्यापनमा संलग्न व्यक्तिलाई सदस्यता प्रदान गरिएको भन्ने उजुरी प्राप्त भएपछि सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई आयोगले पत्र पठाएको हो ।