पशु चौपायामा लम्पी स्किन रोग रामेछापमा पनि देखा पर्‍यो

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, रामेछापमा पनि पशु चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । मन्थली नगरपालिकाका १४ वटै वडासहित रामेछापका अन्य ठाउँमा पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखा परेको हो ।

मन्थली नगरपालिका–६ भलुवाजोरका कुबिण्डे, हुलाक डाँडा, बेतीनी, सिमपानी लगायतका ठाउँमा लम्पी स्किन रोग फैलिएको छ । रोगग्रस्त क्षेत्रमा नियमित सङ्क्रमण, उपचार लगायतका कार्य भइरहेको मन्थली नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताउनु भयो ।

यो रोगबाट पशुमा हुने मृत्युदर कम भए पनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने हुँदा किसानलाई नोक्सानी हुने उहाँले बताउनु भयो । यो रोग काठमाण्डौ, ललितपुर, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, भक्तपुर, डोटी, दाङ लगायत जिल्लामा देखापरिसकेको छ ।

यसवर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको सङ्क्रमण देखिन थालेको थियो । त्यसबेला मकवानपुर, चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा देखिएको लम्पी स्किन रोग अहिले देशभर फैलिएको छ ।

लम्पी स्किन रोग लागेका गाईरभैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्छ ।

रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वरेन्टिनमा राखेर उपचार गर्न पशु सेवा विभागका उपमहानिर्देशक एवम् पशुपक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाका प्रमुख डा.वरुणकुमार शर्माको सुझाव छ ।

भारत तथा चीनमा सन् २०१९ मा देखिएको यो रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो । २०७७ साल असारमा नेपालमा लम्पी स्किन रोग भित्रिएको थियो ।

 

प्रकाशित : 22 May, 2023

प्रतिक्रिया दिनुहोस्