राष्ट्रपतिको कार्यालयले चौधरीलाई माफी दिने फाइल गृहमा फिर्ता

सहयात्रा टिभी

काठमाडौँ । जेठ १२, कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको सजाय माफी मिनाहा दिने फाइल राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको जनाएको छ ।

चौधरीलाई माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालयले आज शुक्रवार गृह मन्त्रालयमा फिर्ता पठाएको हो । प्रचलित कानुन बमोजिम र अदालतबाट स्थापित नजिर प्रतिकूल नहुने गरी निर्णय गर्नू भन्दै सरकारको प्रस्ताव फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिनुभयो ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यही घटनामा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएका चौधरीलाई उच्च र सर्वोच्च अदालतले पनि दोषी ठहर्‍याउँदै जन्मकैदको सजाय सुनाएका थिए ।

चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति कार्यालयबाट सजाय माफी दिएर छुटाउने सरकारको योजनाअनुसार गृह मन्त्रालयले केही दिनअघि चौधरीको फाइल राष्ट्रपतिको कार्यालयमा पठाएको थियो ।

 

प्रकाशित : 26 May, 2023

प्रतिक्रिया दिनुहोस्