तमोर आयोजनाबाट पावर चाइनालाई विदाइ गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, लगानी बोर्ड नेपालले ६७९ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई विदाइ गर्न प्रक्रिया अघि बढाएको छ ।

आइतबार बसेको लगानी बोर्डको बैठकले पावर चनाइनालाई नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) सँग मिलेर आयोजना बनाउन गरेको सम्झौता र कार्ययोजनाअनुसार काम अघि नबढेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

एचआईडीसीएलले लगानी बोर्ड, नेपाललाई आयोजना बनाउन पावर चाइनासँग २६ असोज २०७६ मा भएको सम्झौतालाई निरन्तरता नदिन औपचारिक आग्रह गर्दै पत्र लेखेको थियो ।

त्यसकै आधारमा लगानी बोर्डले यसबारे स्पष्ट गर्न पावर चाइनालाई पत्र पठाउने निर्णय गरेको हो ।

३ वर्षअघि चिनियाँ राष्ट्रपति सि जिन फिङ नेपाल भ्रमणमा रहेका बेला पावर चाइनाले यो आयोजनामा ७४ प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको थियो ।

सरकारले तमोर जलासययुक्त आयोजनाबाट पावर चायनालाई विदा गरेर भारतीय कम्पनी भित्र्याउने योजना बनाएको छ ।

एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम सम्झौताअनुसार काम गर्न चासो नदिएपछि पावर चाइनासँग मिलेर आयोजना विकास गर्न नसकिने निष्कर्षमा पुगेको बताउँछन् ।

 

प्रकाशित : 28 May, 2023

प्रतिक्रिया दिनुहोस्