लम्पी स्किन माहामारीका कारण १ हजारभन्दा बढी पशु मरे

काठमाडौँ । जेठ १६, कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ ।
कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिए ।
यसैगरी, धनकुटामा ७४, तेह्रथुममा ३९, सङ्खुवासभामा ३७, भोजपुरमा १७ र सुनसरीमा ९३ वटा गाईगोरु, राँगाभैँसी मरेका उनको भनाइ छ । ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार नभएको उनको भनाइ छ।
रोगी पशुको र्याल, शरीरबाट निस्कने तरलपदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाटसमेत रोग सङ्क्रमण हुने पशु चिकित्सक कट्टेलले बताए । उनले प्रदेशका १४ जिल्ला हेर्ने गरी स्थापना गरिएका आठ वटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिकासँगको समन्वयमा निर्देशनालयले आकस्मिक रोग नियन्त्रण कोषबाट सचेतनामूलक कार्यक्रमका साथै औषधि किसानलाई वितरण गरिरहेको बताए ।
यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखापर्नु यसलाई चिन्ने सजिलो लक्षण हो।
नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’बाट सङ्क्रमित पशु अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा दश वर्ष अघि भएको मानिएको छ।
क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक कट्टेलले बताए । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ।