फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक
काठमाडौँ । जेठ १७, विजय लामा र दीया पुन स्टारर फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक भएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण खुलासा गर्छ । दुई मिनेट १७ सेकेण्ड लामो ट्रेलरले हराएको मुख्य पात्रलाई खोज्न प्रहरीले गरेको खोजीको कथा भन्छ ।
एक हत्याको घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले एक टोली तयार गर्छ । उसलाई यो रहस्यमय घटनाको यथार्थ पत्ता लगाउने जिम्मा दिइएको हुन्छ ।
उक्त प्रहरी मिसनको नेतृत्व दीया पुनले गरेकी हुन्छिन् । फिल्ममा बाबुछोराको सम्बन्ध पनि दर्शाउन खोजिएको छ । बाबुको भूमिकामा लामा देखिएका छन् ।
फिल्मको छायांकन मुस्ताङमा गरिएको छ । फिल्ममा त्रिचु राई, एवनराज उप्रेती, रेश्मा घिमिरे लगायतको पनि अभिनय छ । साई पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । ‘अन्तिम संस्कार’ असार ८ गते रिलिज हुँदैछ ।