तोकियो तीन प्रमुख बालीमा मल प्रयोगको नयाँ मापदण्ड 

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, सरकारले ४७ वर्षपछि नेपालको कृषि योग्य भूमिमा माटोको अवस्था र प्रकार अनुसार तीन प्रमुख बालीमा मल प्रयोगको नयाँ मापदण्ड तोकेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तरगतको नेपाल बिउ तथा मल परियोजना खुमलटारले सोमबार स्थान र माटोअनुसार धान, मकै र गहुँ बालीमा हाल्नुपर्ने मलखाद प्रयोगको मात्रा तोकेको हो । अब किसानले आफ्नो क्षेत्र र माटोको गुणअनुसार फरक–फरक मात्रामा मल प्रयाग गर्न सक्छन् ।

सन् १९७६ मा सरकारले मालखादको मात्रा तोकेको थियो । तर, त्यसबेला सबै ठाउँमा समान खालको मलखाद प्रयोगको प्रणाली विकास गरेको थियो ।

नयाँ मापदण्ड तोकिए पछि पुरानो प्रणाली तोडिएको नार्कका माटो वैज्ञानिक डा श्रीप्रसाद विष्टले जनकारी दिए । उनकाअनुसार अब स्थानीय स्तरको माटोको उर्वराशक्ति र खाद्यन्नको उत्पादकत्वअनुसार मल खाद प्रयोगको मात्रा फरक–फरक हुने छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ४ वर्ष लगाएर नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय माटो अनुसन्धान केन्द्र र अमेरिकी सहायोग नियोग (यूएसएड) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र मिलेर नयाँ विवरण तयार परिएको हो ।

नयाँ मापदण्डअनुसार मलखादको नयाँ मात्रा यसअघिको तुलनामा औसत ३० प्रतिशतसम्म बढेको नार्कले जनाएको छ । माटोको उर्वराशक्ति र धान, गहुँ, मकैको उत्पादनको अवस्थालाई अध्ययन गरेर हिमाल, पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै मात्रामा मलखाद प्रयोगको सिफारिस गरिएको छ ।

नयाँ सिफारिसपछि सघन वाली प्रणाली, उच्च पोषकतत्व चाहिने उन्नत प्रजातिहरू र अन्य कारणले माटोको उर्वराशक्तिमा छिटो परिवर्तन, माटोबाट पूर्ति हुने पोषकतत्व, बालीको उत्पादन लक्ष्य र बाली काट्ने समयमा बालीले लिएको पोषकतत्वको मात्रालाई ध्यानमा राखी मलखाद सिफारिस गरिएको नार्कले जनाएको छ ।

मलखाद सिफारिसका लागि स्थानीय स्तरमा माटोको उर्वराशक्ति, हालको धान, मकै र गहुँबालीको उत्पादनलाई ध्यानमा राखेर स्थान विशेष मलखाद सिफारिस गरिएको सरकारी दाबी छ ।

 

प्रकाशित : 14 June, 2023

प्रतिक्रिया दिनुहोस्