निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको जानकारी प्राप्त भएको छ । सम्मेलन २-५ असारसम्म काठमाडौं नयाँ बजारमा हुनेछ ।

 

नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सम्मेलन तथा प्रदर्शनीको सञ्चालन गर्दैछ ।

नेपाली कफी माग स्वदेशी तथा विदेशी बजारमा व्यापक रूपमा बढ्दै गए पनि यसको उत्पादन तथा निर्यात बढाउन नसकिएको अवस्थामा यसक्षेत्रको समग्र मूल्य श्रृङ्खलालाई मजवुत बनाउने उपयहरूको खोजी गर्ने तथा अवसरको पहिचान गर्न यो सम्मेलन तथा प्रदर्शनी नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारीले जानकारी दिए ।

नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् ।

सम्मेलनले कफी उत्पादकहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्यमी व्यवसायीहरुसँग सम्पर्क स्थापित गर्न र बजार पहुँच विस्तार गर्न अवसरहरु सिर्जना गर्ने विश्वास लिइएको छ । नेपालमा ४२ जिल्लामा कफी खेतीको सम्भावना भए पनि त्यसको आधाआधी जिल्लामामात्र व्यावसायिक खेती हुने गरेको छ ।

 

प्रकाशित : 14 June, 2023

प्रतिक्रिया दिनुहोस्