एपमार्फत बेटिङ प्रचारको आरोपमा बल्छी धुर्वेसहित ८ जना पक्राउ
काठमाडौं । जेठ ३२, अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट जानकारी प्राप्त भएको छ । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ ( बल्छि ध्रुवे), राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ति मगर, गणेश देवकोटा र सरोज घिमिरे रहेका छन् ।
प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो ।
पक्राउ परेकाले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप प्रहरीको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएको छ ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ ।