भारत निर्यात हुन थाल्यो दैनिक ३०० मेगावाट बिजुली
काठमाडौं । जेठ ३२, नेपाल विद्युत प्राधिकरणले फेरि भारतमा दैनिक ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ ।
पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत निर्यात सुरु भएको हो ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको छ ।
अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर नै विद्युत निर्यात गर्न सकिने अनुमान गरिएको उनले बताए । असारपछि मंसिरसम्म त झन् ठूलो मात्रामा विद्युत निर्यात गर्नुपर्ने प्रक्षेपण छ ।
नेपालमा खपत हुन नसकेको बिजुली प्राधिकरणले भारतको ऊर्जा एक्सचेञ्ज बजारको ‘डे अहेड’ मार्केटमा बेचिरहेको छ ।
बेच्न सकिने बिजुली अघिल्लो दिन नै भारतीय ऊर्जा बजारको प्रणालीमा बोलकबोलका लागि राख्ने र सो अवधिमा प्रणालीले माग र आपूर्तिका आधारमा निर्धारण भएको दरमा बेच्ने गरिएको छ ।