रामेछाप स्थित नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा
काठमाडौं । असार १, रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको जनाएको छ ।
रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।
सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी, ६/८ एभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका तीन वटा फिडर लाइनहरु निकालिएका छन् ।
३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ ।
११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइने छ । उक्त सहकारी दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ ।