न्यायालयमा बिचौलियाको प्रभाव रहेको कार्कीद्धारा स्वीकार
सहयात्रा टिभी
काठमाडौं । असार १, संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गर्नुअघि शुक्रबार दुई घण्टा प्रश्नोत्तर गर्यो ।

एक घण्टा समिति सदस्यहरूले प्रश्न गरे, अर्को एक घण्टा कार्कीले जवाफ दिए।
प्रश्नोत्तरमा सहभागी सांसदहरूले उठाएको समान एउटा प्रश्न छ , न्यायालयप्रति जनताको आस्था र विश्वास घट्दो छ। उनीहरूले यसको कारण दिएका छन् , न्यायालयमा बिचौलिया हावी छन्, भ्रष्टाचार छ, सुशासनको प्रत्याभूत भएन भन्ने जनगुनासो छ।
जवाफ दिने क्रममा कार्कीले न्यायालयमा बिचौलियाको प्रभाव रहेको स्वीकार गरेका छन्। समाधानका लागि के -कस्ता प्रयास गर्न सकिन्छ भनी विगतका अध्ययन, विद्यमान अभ्यास र आगामी कार्ययोजना समेत समितिसमक्ष प्रस्तुत गरेका छन्।
प्रधानन्यायाधीश हुनुअघि कार्कीले आठ महिना (११ असोज २०७९ देखि १ असार २०८० सम्म) कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।
एमालेकै सांसद ईश्वरी घर्तीको प्रश्न थियो, ‘न्यायालयमा बिचौलिया हुन्छन् भन्ने सुनेको हो, यहाँले पुष्टि गर्नुभएको छ। यसले न्यायालयभित्र बिचौलियाको दबदबा रहेछ भन्ने त थाहा लाग्यो। बिचौलिया को को हुन् ? प्रष्ट पार्नुपर्यो।’
कार्कीले अदालतमा बिचौलियाको प्रभाव रहेको स्वीकार मात्रै गरेका छैनन्, २९ प्रकारका बिचौलिया रहेको बताएका छन्। २०६४ सालमा नेपाल बार एशोसिएसनले गरेको अध्ययनदेखि नै न्यायालयमा बिचौलिया रहेको भन्ने देखिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘त्यस (अध्ययन)लाई हेर्दा बिचौलियाबाट कुनै पनि क्षेत्र अछुतो छैन । त्यसले २९ किसिमका बिचौलियाको कुरा (पहिचान) गरेको छ।’
तर, बिचौलियाको रूपमा पहिचान भएका को हुन् ? तिनको पहिचानको आधार के हो ? भन्ने विषय प्रष्ट पारेनन् । बरु प्रधानन्यायाधीशको रूपमा बिचौलिया नियन्त्रणका लागि काम गर्ने उनको पाँचबुँदे कार्ययोजना छ ।


