चुरे संरक्षणमा चुनौती बढ्दो : उपराष्ट्रपति यादव

सहयात्रा टिभी

नवलपुर । असार २, जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनाशले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिएको उपराष्ट्रपति रामसहायप्रसाद यादवले बताएका छन् ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयले नवौं चुरे संरक्षण दिवसको अवसरमा पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

‘चुरे क्षेत्रको संरक्षण अपरिहार्य छ । तराई र पहाडको जलवायु परिवर्तन र वातावरणीय प्रभावलाई सन्तुलित बनाउन हामी यस्को संरक्षणमा लागेका हौं,’ उनले भने, ‘यसको संरक्षण गर्दै गर्दा यसबाट तल्लो र माथिल्लो तटीय क्षेत्रका स्थानीयको अपनत्व हुन आवश्यक छ । त्यसको लागि गुरुयोजना बनाएर कार्यान्वयनको चरणमा छ ।’

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नारासहित असार २ गते चुरे संरक्षण दिवस मनाइँदै आएको छ । यो वर्ष पूर्वी नवलपरासीको कावासोती–६ स्थित विष्णु नगर सामुदायिक वनको १० हेक्टर क्षेत्रफल क्षेत्रफलमा १० हजार विरुवा रोपिँदै छ ।

सोही कार्यक्रममा चुरे संरक्षणको नाममा बस्ती भन्दा अग्लो खोलाको सतह भएको र खेतीयोग्य जमीन कटान बढेको भन्दै गुरुयोजना बनाएर व्यवस्थापन गर्नुपर्नेमा जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले उपराष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : 17 June, 2023

प्रतिक्रिया दिनुहोस्