आदिपुरुष सिनेमामार्फत भ्रमपूर्ण सन्देशबारे स्पष्ट हुन सांसद गैरेद्धारा सरकारलाई आग्रह

सहयात्रा टिभी

काठमाडौँ । असार ३, नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भनी सरकारलाई प्रश्न गरेका छन् ।

भारतले पछिल्लो समय आदिपुरुष सिनेमामार्फत् सीता भारतकी छोरी हुन् भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै यसबारे सरकारलाई स्पष्ट हुन पनि आग्रह गरे।

उनले भने, ‘ अहिले फेरि यो आदिपुरुष सिनेमाको नाममा सिता भारतकी छोरी हुन भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन। त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तरर्वार्तामार्फत अभिव्यक्ति दिइराखेका छन् । नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ? नेपाल सरकार स्पष्ट हुन जरुरी छ।’

आइतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद गैरेले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलबस्तु र लुम्बीनीलाई आफ्नो सदनमा नक्शांकन गरेर अत्यन्तै गलत काम गरेको भन्दै भारतप्रति आक्रोश पनि व्यक्त गरे।

उनले भने, ‘ नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेका हुन भन्ने अत्यन्त भ्रमपूर्ण समाचार प्रवाह गर्ने भारत। अहिले कपिलबस्तु र लुम्विनीलाई आफ्नो सदनमा नशांकन गरेर अत्यन्त गलत काम गरेको छ ।’

उनले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै नेपालको एकइन्च पनि भूमि छोडने पक्षमा आफूहरु नरहेको पनि बताए ।

सांसद गैरेले नेपाल भारतकै अंग हो भन्ने खालको अभिव्यक्ति आदिपुरुष सिनेमा लेखकले अन्तरवार्तामार्फत दिएको भन्दै आपत्ति जनाए।

प्रकाशित : 18 June, 2023

प्रतिक्रिया दिनुहोस्