चार दलको समाजवादी मोर्चाले १५ बुँदे प्रतिवद्धता तय

काठमाडौँ । असार ३, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुंगो लगाएको छ ।
आइतबार बसेको चार दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहितको १५ बुँदे प्रतिवद्धता तय गरेको छ ।
दलहरुले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरुप हुने सहमति गरेका हुन् । ‘मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने छन् । यस मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुनेछ’ मोर्चाको सहमतिपत्रमा भनिएको छ ।
माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा नाममा सहकार्य गर्न लागेका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्षसहितको एउटा संयोजन समिति हुने र त्यसले आवश्यकता अनुसार उपसमितिहरू बनाएर अन्य दलहरूलाई पनि सहभागी गराउने निर्णय भएको छ ।