अमेरिकी विदेशमन्त्री ब्लिंकेन र चिनियाँ समकक्षी क्वीन गाङबीच वार्ता
काठमाडौँ । असार ४, भ्रमण तयारको पाँच महिनापछि बेइजिङ पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले समकक्षी क्वीन गाङसँग साढे सात घण्टा वार्ता गरेको जानकारी प्राप्त भएको छ ।
यो भ्रमण आपसी सम्बन्ध सुधारका लागि महत्वपूर्ण पहल हुने अपेक्षा अमेरिकी कूटनीतिज्ञहरूले गरेका छन् ।
दुई विदेशमन्त्री बीचको वार्ता निकै रचनात्मक ढंगले भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।
चिनियाँ विदेशमन्त्रीले वाणिज्य, शिक्षा तथा सांस्कृतिक सहकार्यबारे खुलेर कुरा राखे पनि ताइवान मामिलामा अनावश्यक हस्तक्षेप नगर्न विगतमाझैं चेतावनी दिएको उसको समाचारमा उल्लेख छ ।
आइतबार बेइजिङ टेकेका ब्लिंकेनले अमेरिकाका लागि पूर्व चिनियाँ राजदूत समेत रहेका क्वीनसँग सरकारी आवासमा वार्तामा गरेका थिए । उनीहरूले साढे पाँच घण्टा वान–टु वान वार्ता गरेका थिए भने रात्रिकालीन भोजमा थप दुई घण्टा बिताएका थिए ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले विदेशमन्त्री बीचको लामो वार्ताले तनावरहित सम्बन्ध स्थापनामा सहयोग पुग्ने विश्वास लिएको बताएकी छिन् ।