दाङमा बोक्सी आरोप लगाउने झाँक्रीसहित २ जना पक्राउ

दाङ । असार ४, घोराहीमा बोक्सीको आरोप लगाउने झाँक्रीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका २ निमुरियाका ४५ वर्षीय झाँक्री यमबहादुर सार्की र घोराही ३ गैरीगाउँ संगम टोलकी ३३ वर्षीया सरस्वती गुरुङ रहेका छन् ।
गुरुङले जेठ ३१ गते छोरा बिरामी भएको भन्दै सार्कीलाई झाँक्री बसालेको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई बोक्सी आरोप लगाएको उजुरी परेपछि उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ (च) अर्न्तगत धामीझाँक्रीको माध्यमबाट बोक्सीको आरोप लगाउन नहुने कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।