जर्मनी र रोमानियासँग श्रम समझदारी गर्नें तयारी

सहयात्रा टिभी

काठमाडौँ । असार ४, सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्नें तयारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो ।

मन्त्रालय स्रोतका अनुसार यी दुई देशसँग श्रम समझदारी गर्न समझदारीपत्रको मस्यौदा तयार गरेर पठाइएको छ । ती मुलुकले छलफलका लागि समय तोकेपछि मन्त्रालयको टोली त्यसतर्फ जाने मन्त्रालयका एक अधिकारीले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल नेपालीहरु गइरहका र भविष्यमा जानसक्ने युरोपियन श्रम गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गर्न प्रयत्न अघि बढेको बताउँछन् । तर, त्यो विषय छलफलको चरणमा नै रहेको उनको भनाइ छ ।

महिनामा पाँच सय डलरभन्दा बढी कमाइ हुने र ओभरटाइभ पनि पाइने लोभ देखाएर नेपाली श्रमिकहरुलाई रोमानिया, पोल्याण्ड, टर्की जस्ता देशमा पठाइँदैछ । तर, युरोपका अधिकांश श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता हुन सकेको छैन ।

रोमानिया र पोल्याण्डजस्ता देशले विदेशी लगानी भित्र्याउन विभिन्न नीति लिएपछि त्यहाँ श्रमिकको माग बढेको हो । ती देशमा सस्तो मूल्यका श्रमिकको खोजी ज्यादा छ ।
रोमानियासहितका देशबाट धेरैजसो कृषि, पशुपालन, उद्योग, होटल र निर्माण क्षेत्रका लागि श्रमिकको माग आउने गरेको छ । दक्षता नचाहिने भएकाले धेरै नेपाली ती देशमा जान लोभिएका छन् ।

 

प्रकाशित : 19 June, 2023

प्रतिक्रिया दिनुहोस्